कालिकोट, असार १२। सरस्वती माध्यमिक विद्यालय, पचालझरना गाउँपालिका–८ भिट्टा, कालिकोटमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ३२ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण गरिएको २ कोठे विद्यालय भवन तथा संघीय सरकारको ३९ लाख रुपैयाँ अनुदानमा निर्माण गरिएको ४ कोठे भवनको उद्घाटन गरिएको छ। सोही अवसरमा विद्यालय व्यवस्थापन समितिको वार्षिक समीक्षा तथा विविध सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भएको छ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त बहादुर शाहीको सभाध्यक्षता तथा पचालझरना गाउँपालिकाका अध्यक्ष देवराज शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा वडा अध्यक्ष ललिजन शाही, कल बहादुर ऐडी, भक्त बहादुर बम, जयराम टमट्टा लगायत जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। शिक्षा, युवा तथा खेलकुद विकास शाखाका वरिष्ठ शिक्षा अधिकृत धुर्वलाल संज्यालको विशेष आतिथ्यता रहेको थियो।
प्रमुख अतिथि गाउँपालिका अध्यक्ष देवराज शाहीले विद्यालयको भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर सुधारमा गाउँपालिका निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै नयाँ भवनले विद्यार्थीको सिकाइ वातावरण थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
विशेष अतिथि वरिष्ठ शिक्षा अधिकृत धुर्वलाल संज्यालले विद्यालयको समग्र विकासमा शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारबीचको सहकार्य अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले “भवन निर्माण मात्र शिक्षा सुधारको अन्तिम लक्ष्य होइन, त्यसको सही उपयोग गर्दै विद्यार्थीको सिकाइ उपलब्धि, अनुशासन, नियमितता र गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ। विद्यालयले भौतिक विकाससँगै शैक्षिक उपलब्धिलाई पनि समान प्राथमिकतामा राख्नुपर्छ,” भन्ने धारणा व्यक्त गरे। साथै उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट निर्माण भएका संरचनाको संरक्षण गर्दै प्रभावकारी रूपमा उपयोग गर्न सबै पक्षलाई आग्रह गरे।
कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो भने विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए। नवनिर्मित भवनको उद्घाटनसँगै विद्यालयको शैक्षिक वातावरण थप सुदृढ हुने विश्वास व्यक्त गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
सरस्वती माविमा नयाँ भवन उद्घाटनसहित वार्षिक समीक्षा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
तपाईको प्रतिक्रिया

साझा रैबार । १२ असार २०८३, शुक्रबार १८:३२