शैक्षिक रूपान्तरण सम्बन्धी बृहत् वार्षिक समीक्षा गोष्ठी सम्पन्न

कालिकोट — पचालझरना गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक रूपान्तरण सम्बन्धी बृहत् वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ।
शाखाका वरिष्ठ शिक्षा अधिकृत धुर्वलाल संज्यालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा पचालझरना गाउँपालिकाका अध्यक्ष देवराज शाही प्रमुख अतिथि रहनुभएको थियो। गाउँपालिकाकी उपाध्यक्ष अल्किना बम, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश सापकोटा, वडा अध्यक्षहरू, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरू, गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्षहरू, प्रधानाध्यापक तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षा, युवा तथा खेलकुद शाखा तथा अन्य सरोकारवालाबीच समन्वय, सहकार्य र सिकाइ आदान–प्रदानलाई प्रभावकारी बनाउने उद्देश्यले गोष्ठी आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा वरिष्ठ शिक्षा अधिकृत धुर्वलाल संज्यालले शैक्षिक सत्र २०८२ मा शिक्षा, युवा तथा खेलकुद शाखाले सञ्चालन गरेका कार्यक्रम, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत जानकारी गराउनुभयो। उहाँले गुणस्तरीय शिक्षा, विद्यालय व्यवस्थापनमा सुधार, शिक्षकको पेशागत विकास तथा विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धिका लागि शाखाले विभिन्न सुधारमुखी कार्यक्रम सञ्चालन गरेको बताउनुभयो। साथै विद्यालय र स्थानीय सरकारबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै शैक्षिक रूपान्तरणलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रधानाध्यापकहरूको तर्फबाट पखबहादुर शाहीले गाउँपालिका र शिक्षा शाखाले शिक्षाको गुणस्तर सुधारका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि विद्यालय र स्थानीय सरकारबीचको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
सरस्वती माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष वसन्तबहादुर शाहीले विद्यालय विकास, अभिभावकको सक्रिय सहभागिता तथा गुणस्तरीय शिक्षाका लागि विद्यालय, अभिभावक, शिक्षक र स्थानीय सरकारबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको धारणा राख्नुभयो।
पचालझरना गाउँपालिका वडा नं. ४ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक अनरूप रोकायाले शिक्षा क्षेत्रको सुधारका लागि स्थानीय सरकार, विद्यालय, शिक्षक, अभिभावक तथा समुदायबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्ने बताउनुभयो। उहाँले शैक्षिक रूपान्तरणका लागि सबै पक्षले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिँदै सामुदायिक विद्यालयलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउने अभियानमा गाउँपालिका निरन्तर लागिपर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष देवराज शाहीले शिक्षा नै समृद्ध समाज निर्माणको मुख्य आधार भएकाले शिक्षामा गरिएको लगानीलाई परिणाममुखी बनाउन सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यालयको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, प्रविधिमैत्री शिक्षण, शिक्षकको क्षमता विकास तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधारलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो। साथै, आगामी दिनमा शिक्षा क्षेत्रलाई अझ प्रभावकारी, उत्तरदायी र नतिजामुखी बनाउँदै शैक्षिक रूपान्तरणको अभियानलाई निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गोष्ठीमा सहभागीहरूले विद्यालयको शैक्षिक अवस्था, चुनौती, असल अभ्यास तथा आगामी कार्ययोजनाबारे अनुभव आदान–प्रदान गरेका थिए। कार्यक्रमले शिक्षा क्षेत्रका सरोकारवालाबीच सहकार्य, समन्वय र साझा प्रतिबद्धतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको थियो।

तपाईको प्रतिक्रिया