बालबालिका सम्बन्धी बनेका नीतिहरूको समीक्षा ।।

 

कालिकोट — “बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नारासहित शुभकालिका गाउँपालिकामा बालबालिकासम्बन्धी नीतिहरूको समीक्षा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीले सभाध्यक्षता गर्नुभएको थियो भने गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै वडा नं. ५ का वडा अध्यक्ष मिम बहादुर शाही को विशेष आतिथ्यता रहेको कार्यक्रमले व्यापक सहभागिता जुटाएको थियो।

कार्यक्रममा कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, नागरिक समाजका प्रतिनिधि, बाल क्लबका सदस्यहरू तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा बालअधिकार, शिक्षा, स्वास्थ्य, संरक्षण तथा बालमैत्री स्थानीय शासनका विषयमा बनेका नीतिहरूको समीक्षा गर्दै तिनको कार्यान्वयन अवस्थाबारे गहन छलफल गरिएको थियो।

कार्यक्रममा सभाध्यक्ष धर्मकला शाहीले बालबालिकाको समुचित विकासका लागि नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “बालबालिकाको उज्ज्वल भविष्यका लागि स्थानीय तहले बनाएका नीति व्यवहारमा लागू हुनु सबैभन्दा महत्वपूर्ण पक्ष हो। हामी सबैको साझा प्रयासबाट मात्र बालमैत्री समाज निर्माण सम्भव हुन्छ।”

त्यस्तै प्रमुख अतिथि गोविन्द प्रसाद आचार्यले बालबालिकामा गरिएको लगानीले दीर्घकालीन रूपमा समृद्ध समाज निर्माणमा योगदान गर्ने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “बालबालिका राष्ट्रका आधारस्तम्भ हुन्। उनीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षामा लगानी गर्नु भनेको भविष्य सुरक्षित गर्नु हो। अब हामीले कागजमा सीमित नीति होइन, व्यवहारमा देखिने परिणाम दिनुपर्छ।

विशेष अतिथि रहनु भएकाे वडा अध्यक्ष मिम बहादुर शाहीले वडा तहबाट बालमैत्री कार्यक्रमहरूलाई प्राथमिकता दिइँदै आएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार, “स्थानीय स्तरमै बालबालिकाका समस्या पहिचान गरेर समाधान गर्नु हाम्रो जिम्मेवारी हो, र यसमा सबैको सहकार्य आवश्यक छ।

कार्यक्रममा सहभागी नागरिक समाज तथा बाल क्लबका प्रतिनिधिहरूले पनि बालअधिकारको संरक्षण, बालश्रम न्यूनीकरण, गुणस्तरीय शिक्षामा पहुँच र स्वास्थ्य सेवाको सहज उपलब्धता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले नीति कार्यान्वयनमा देखिएका कमजोरीहरू सुधार गर्दै स्थानीय तहले अझ जिम्मेवार भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए।

समग्रमा, कार्यक्रमले बालबालिकासम्बन्धी नीतिहरूको प्रभावकारी कार्यान्वयन, सरोकारवालाबीच समन्वय र बालमैत्री वातावरण निर्माणमा जोड दिनुपर्ने निष्कर्ष निकालेको छ। सहभागीहरूले बालबालिकामा लगानी बढाउँदै उनीहरूको अधिकार सुनिश्चित गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा सहमति जनाएका छन्।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग भिडिसेफ नेपाल कालिकोटकाे साझेदारी तथा शुभकालका गाउँपालिकाकाे समन्वयका कार्यक्रम गरिएको हाे । उक्त कार्यक्रममा शुभकालिका गाउँपालिकाको बालबालिका सम्बन्धी नीतिगत व्यवस्था तथा कानुनहरूको संघालो २०७७ लाई संशोधन गरिने समेत बताइएको छ।

तपाईको प्रतिक्रिया