पचालझरनामा १५ दिने झोला उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न

पचालझरना गाउँपालिकाको आयोजनामा “उद्यम गरौँ, आत्मनिर्भर बनौँ, समृद्ध पचालझरना निर्माणमा योगदान गरौँ” भन्ने उद्देश्यसहित सञ्चालन गरिएको १५ दिने झोला उत्पादन उद्योग तथा व्यवस्थापन स्तरोन्नती तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
फागुन २४ गतेदेखि चैत ८ गतेसम्म सञ्चालन भएको उक्त तालिमको समापन कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश सापकोटाको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने गाउँपालिका अध्यक्ष देवराज शाही प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखा प्रमुख, कर्मचारी तथा प्रत्येक वडाबाट २/२ जनाका दरले जम्मा १८ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो।
समापन कार्यक्रममा सहभागीहरूको तर्फबाट बोल्दै शितलपुरा फर्सालले तालिमबाट झोला उत्पादन तथा व्यवस्थापनसम्बन्धी महत्वपूर्ण सीप हासिल गरेको बताउँदै गाउँपालिकाप्रति आभार व्यक्त गर्नुभयो। उहाँले सिकेको सीपलाई व्यवहारमा उतार्दै आयआर्जनमा जोडिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष देवराज शाहीले यस्ता सीपमूलक तालिमहरूले स्थानीय युवायुवती तथा महिलाहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। उहाँले सिकेको सीपलाई व्यवहारमा उतारेर उद्यम सुरु गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
त्यसैगरी, कार्यक्रम समापन गर्दै प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश सापकोटाले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गरी साना–साना उद्यममार्फत आर्थिक सशक्तीकरण हासिल गर्न सकिने धारणा राख्नुभयो। साथै आगामी दिनहरूमा पनि यस्ता सीपमूलक तालिमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका बीच सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै तालिम औपचारिक रूपमा समापन गरिएको उद्यम विकास शाखा प्रमुख नेत्रराज बमले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया