कालिकोट जिल्लाकाे शुभकालिका गाउँपालिका–५ मा शौचालय निर्माणको विषयलाई लिएर वडा अध्यक्ष मिम बहादुर शाही र स्थानीय धनराज कामीबीच मिति २०८२ साल फागुन २६ गते सामान्य विवाद (चर्काचर्की) भएको घटना अन्ततः मेलमिलापमार्फत समाधान भएको छ।
उक्त विषयलाई लिएर शुभकालिका गाउँपालिकाको न्यायिक समितिकीमा छलफल गरी पाउ भनि निवेदन आएलगत्तै संयोजक धर्मकला शाहीको पहलमा सामाजिक अभियन्ता जजराज शाही, नेपाली कांग्रेसका उपसभापति नन्दबहादुर शाही ,बुद्धिजीवी, युवा, नागरिक समाज लगायतका सरोकारवालाको उपस्थितिमा बृहत् छलफल आयोजना गरिएको थियो। न्यायिक समितिको समन्वयमा सम्पन्न उक्त छलफलपछि दुवै पक्षबीच समझदारी कायम गर्दै मेलमिलाप गरिएको हो।
वडा अध्यक्ष मिम बहादुर शाहीले आफूले कुनै पनि व्यक्तिप्रति गलत आशय व्यक्त नगरेको स्पष्ट पार्दै शौचालय निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन खोज्दा सामान्य विवाद उत्पन्न भएको बताएका छन्। उनले आगामी दिनमा यस्ता विषयलाई संवाद र सहकार्यबाट समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।
यस्तै धनराज कामीले वडा कार्यलयमा ताला लगाउन खाेज्नु र ताेडफाेड गर्नु आफ्नो गल्ती भएकाे स्वीकार गर्दै घटनालाई सामान्य विवादको रूपमा लिँदै अब आपसी समझदारीका साथ अघि बढ्ने बताएका छन्। उनले स्थानीय विकासका काममा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।
यसै विषयलाई लिएर धनराज कामीकी बहिनी विष्णु सुनारले सामाजिक सञ्जाल फेसबुकमा गरेको पोस्टबारे पनि स्पष्टिकरण दिएकी छन्। उनले उक्त पोस्टमा वडा अध्यक्ष मिम बहादुर शाहीले दलित लक्षित गालिगाेलाेज नगरेकाे र अफूले रिसकाे आवेगमा फेस्बुकमा लेखेको बताईन् । उनले आवेगमा लेखिएको स्वीकार गर्दै सार्वजनिक रूपमा आफ्नो गल्तीप्रति आत्मालोचना गरेकी छन्।
छलफलमा सहभागी सरोकारवालाहरूले सामाजिक सञ्जालमा अपुष्ट तथा आवेगपूर्ण अभिव्यक्ति नदिन र यस्ता विवादहरूलाई संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
अन्तत आपसी समझदारी, संवाद र सहकार्यको माध्यमबाट विवाद समाधान भएको भन्दै स्थानीयवासीले यसलाई सकारात्मक कदमका रूपमा लिएका छन् । आगामी दिनमा यस्ता गल्तीहरू नगर्ने भनि दुवै पक्षले स्वीकार समेत गरेका छन् गरेका छन् ।

साझा रैबार । ३ चैत्र २०८२, मंगलवार १९:४९