पचालझरनामा छैटौं राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, सरस्वती मावि प्रथम

“स्वस्थ र मर्यादित खेलकुदको कामना, समृद्ध पचालझरना हाम्रो चाहना” भन्ने मूल नारासहित छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पचालझरना गाउँपालिका–७ स्थित पंगेली माध्यमिक विद्यालय, नुवाघरमा सम्पन्न भएको छ।
स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति पचालझरना गाउँपालिकाको आयोजनामा तथा पंगेली माध्यमिक विद्यालयको सहआयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो।
पचालझरना गाउँपालिका अध्यक्ष तथा प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक देवराज शाहीको सभाध्यक्षतामा कार्यक्रम उद्घाटन गरिएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख मीना रावत बिक, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख हर्ष चौलागाईं, गाउँपालिका उपाध्यक्ष अल्किना बम, पूर्व गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल तथा शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख धुर्वलाल सज्यालको विशेष आतिथ्यता रहेको थियो।
प्रतियोगितामा पचालझरना गाउँपालिकाभित्रका १० वटा माध्यमिक विद्यालयका खेलाडीहरूको सहभागिता रहेको थियो। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न खेल विधामा प्रतिस्पर्धा भएको थियो।
प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालयले १६ स्वर्ण, ८ रजत र ३ कास्य गरी कुल २७ पदक जित्दै प्रथम स्थान हासिल गरेको छ। त्यस्तै पंगेली माध्यमिक विद्यालय नुवाघरले ३ स्वर्ण, ६ रजत र ९ कास्यसहित १८ पदक जित्दै दोस्रो स्थान प्राप्त गरेको छ भने अर्को विद्यालयले ३ स्वर्ण र ३ रजत गरी कुल ६ पदकसहित तेस्रो स्थान हासिल गरेको छ।
यससँगै सरस्वती माध्यमिक विद्यालयले लगातार दोस्रो पटक राष्ट्रपति रनिङ शिल्ड जित्न सफल भएको छ। प्रतियोगिताको समापनसँगै आगामी सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सरस्वती माध्यमिक विद्यालयमा आयोजना गर्ने सहमति गरिएको छ र प्रतियोगिताको झण्डा पनि हस्तान्तरण गरिएको छ।
कार्यक्रममा अध्यक्ष शाहीले पालिका स्तरको रनिङ शिल्ड खेलले खेलाडी छनोट तथा प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै जिल्ला स्तरमा उत्कृष्ट नतिजा ल्याउन सबै खेलाडी तथा सरोकारवालालाई एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो। उहाँले प्रतियोगितामा कसले जित्यो र कसले हार्यो भन्नेभन्दा पनि खेलबाट उपलब्धि कसरी हासिल गर्ने भन्ने कुरामा ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया