छैठाै राष्टपति रनिङ सिल्ड प्रतियाेगिता पचालझरनामा सुरु

“स्वास्थ्य र मर्यादित खेलकुदको कामना, समृद्ध पचालझरना हाम्रो चाहना” भन्ने मूल नाराका साथ छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पचालझरना गाउँपालिकामा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन पचालझरना गाउँपालिका–७ स्थित पंगेली माध्यमिक विद्यालय, नुवाघरमा गरिएको हो।
स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति पचालझरना गाउँपालिकाको आयोजनामा तथा पंगेली माध्यमिक विद्यालयको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम पचालझरना गाउँपालिका अध्यक्ष तथा प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति संयोजक देवराज शाहीको सभाध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन समारोहमा जिल्ला समन्वय समिति उपप्रमुख मिना रावत विक, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख हर्ष चौलागाईं, पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बम, पूर्व गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल तथा शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख धुर्वलाल सज्यालको विशेष आतिथ्यता रहेको थियो।
प्रतियोगितामा पचालझरना गाउँपालिकाभित्रका १० वटा माध्यमिक विद्यालयका खेलाडीहरू सहभागी रहेको आयोजकले जनाएको छ। प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने बताइएको छ।
यसअघि लगातार चार पटक सरस्वती माध्यमिक विद्यालय भिट्टाले रनिङ शिल्ड जितेको थियो। यस वर्ष पनि भिट्टा विद्यालयले शिल्ड जित्न सक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया