छत्र राेकामगर
कालिकोट जिल्ला शुभकालिका गाउँपालिका वडा नं. १ का राम बहादुर सुनारले आफ्नो जन्मदिनको अवसरमा हुने फजुल खर्च कटौती गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।
उनले वडा नं. १ भित्रका विद्यालयमा अध्ययनरत ४० जना न्यून आय भएका विद्यार्थीलाई प्रति विद्यार्थी ६ ओटा कापी, ४ वटा डटपेनलगायत विभिन्न स्टेशनरी सामग्री प्रदान गरेका हुन्।
त्यसैगरी, उक्त विद्यालयका १२ जना शिक्षकलाई एक–एक वटा रातो र कालो पेन समेत वितरण गरिएको जनाइएको छ। सुनारको जन्मदिन फागुन २ गते परे पनि सो दिन शनिबारका कारण विद्यालय बन्द हुने भएकाले उनले शुक्रबार नै कार्यक्रमकाे आयोजना गरी जन्मदिन मनाएका थिए।
कार्यक्रमअन्तर्गत सुनारले १० जना सुनार परिवार, १० जना बिक परिवार, १० जना मगर परिवार र १० जना अन्य घरपरिवारका गरी ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए।
कार्यक्रममा बोल्दै रामबहादुर सुनारले व्यक्तिगत खुशी मात्र होइन, समाजका न्यून अवस्था भएका बालबालिकाको शिक्षामा सानो सहयोग पुगोस भन्ने उद्देश्यले यस्तो कार्यक्रम गरेको बताए। “जन्मदिनमा अनावश्यक खर्च गर्नु भन्दा समाजका गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न पाएँ भने त्यो नै मेरो लागि सबैभन्दा ठूलो खुशी हो,” उनले भने।
स्थानीयवासी तथा विद्यालय परिवारले सामाजिक सेवामुखी कार्यमार्फत जन्मदिन मनाउने उनको पहलको प्रशंसा गरेका छन्। जन्मदिन जस्ता व्यक्तिगत अवसरलाई समाजसेवामा रूपान्तरण गर्ने अभ्यासले सकारात्मक सन्देश दिएको सहभागीहरूको भनाइ रहेको छ।

साझा रैबार । १ फाल्गुन २०८२, शुक्रबार १८:५२