घरमै गएर सामाजिक सुरक्षा भत्ता सेवाको बायोमेट्रिक संकलन

कालिकोट — पचालझरना गाउँपालिका वडा नम्वर ७ सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने अशक्त, ज्येष्ठ नागरिक तथा सेवा लिन आउन असहज परिस्थिति भएका लाभग्राहीहरूलाई लक्षित गर्दै घरमै पुगेर बायोमेट्रिक संकलन कार्य सुरु गरिएको छ।

गाउँपालिकाका वडा ७ का सचिव कृष्ण बहादुर बमले सेवा लिन कार्यालयसम्म आउन कठिनाइ भएका नागरिकहरूको घरदैलोमै पुगेर बायोमेट्रिक लिने कार्य गरिरहनुभएको हो। यसबाट शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिकलाई सहज रूपमा सामाजिक सुरक्षा सेवा प्राप्त गर्न सहयोग पुगेको स्थानीयले बताएका छन्।

यसअघि वडा नं. ८ का वडा सचिव कुशल बहादुर शाहीले पनि यस्तै अभियान सञ्चालन गरी घरमै पुगेर बायोमेट्रिक संकलन कार्य सम्पन्न गर्नुभएको थियो।

गाउँपालिकाले नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै सेवा प्राप्त गर्न असहज अवस्थामा रहेका नागरिकलाई घरमै सेवा पुर्‍याउने कार्यलाई निरन्तरता दिने जनाएको छ।

स्थानीयवासीले यस्तो पहलले सरकारी सेवा जनताको घरदैलोमै पुगेको अनुभूति दिलाएको बताएका छन्।

तपाईको प्रतिक्रिया