अपाङ्गता च्याम्पियन बालिका तथा युवा समूहका सदस्यका लागि २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

छत्र राेकामगर

कालिकोट — समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तर्गत अपाङ्गता च्याम्पियन बालिका तथा युवा समूहका सदस्यहरूका लागि आयोजित २ दिने अभिमुखीकरण कार्यक्रम शुभकालिका गाउँपालिका वडा नं. ५ मा सम्पन्न भएको छ।

युरोपियन युनियनको आर्थिक सहयोग, सेभ द चिल्ड्रेनको सहकार्य तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) को आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रमले अपाङ्गता भएका बालबालिका तथा युवाहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा सामाजिक समावेशीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रमको मुख्य उद्देश्य अपाङ्गता भएका बालबालिका तथा युवाहरूलाई अधिकारसम्बन्धी जानकारी प्रदान गर्दै उनीहरूलाई समाजमा सक्रिय, आत्मनिर्भर तथा सशक्त नागरिकका रूपमा विकास गर्नु रहेको थियो।

अभिमुखीकरणमार्फत सहभागीहरूलाई समावेशी शिक्षा, लैङ्गिक समानता, आत्मविश्वास अभिवृद्धि, नेतृत्व क्षमता विकास तथा समुदायमा सकारात्मक भूमिका निर्वाह गर्ने विषयमा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा स्थानीय सरोकारवाला निकाय, युवा समूह, बालबालिका तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै टोप राज चौलागाईंले अपाङ्गता भएका बालिका तथा युवाहरूलाई सशक्त बनाउँदै उनीहरूको आवाज समुदायस्तरमा बलियो बनाउनु आजको आवश्यकता भएको बताउनुभयो।

त्यसैगरी, कार्यक्रमका सभाअध्यक्ष तथा शुभकालिका गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष मिम बहादुर शाहीले यस्ता कार्यक्रमले अपाङ्गता भएका बालबालिका तथा युवाहरूको आत्मविश्वास बढाउँदै उनीहरूलाई समाजको मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्थानीय तहले पनि समावेशी शिक्षा, समान अवसर र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया