पचालझरना गाउँपालिकामा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कालीकाेट

पचालझरना गाउँपालिकामा समाज परिवर्तन युवा क्लबद्वारा आयोजना गरिएको मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको सभाअध्यक्षता क्लबका अध्यक्ष चन्द्र सेजुवालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा वडा नं. ४ का वडा अध्यक्ष अनुरुप रोकाया उपस्थित हुनुहुन्थ्यो। विशेष अतिथिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश सापकोटा रहनुभएको थियो।

कार्यक्रममा शिक्षा शाखा प्रमुख धुर्वलाल संज्याल, योजना शाखा प्रमुख कमल बहादुर बम, स्रोत व्यक्ति नमराज शाही, रोजगार शाखा प्रमुख नमराज संज्याल लगायत गाउँपालिकाका सम्पूर्ण कर्मचारी, १० वटा विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वक्तृत्वकला प्रतियोगितामा पचालझरना गाउँपालिका अन्तर्गतका १० वटै विद्यालयको सहभागिता रहेको थियो। छात्रातर्फको शीर्षक “महिला सशक्तीकरण : आजको आवश्यकता” र छात्रतर्फको शीर्षक “डिजिटल नेपाल निर्माणमा युवाको भूमिका” तय गरिएको थियो।

प्रतियोगितामा छात्रतर्फ प्रथम हुने पंचकालिका माविका पुष्पराज आचार्य, दोस्रो सहिद स्मृति माविका रेशम दर्जी र तेस्रो ज्ञानोदय माविका नेशनल रोकायाले स्थान हासिल गर्नुभयो। त्यसैगरी छात्रातर्फ प्रथम हुने पंगेली मावि नुवाघरकी प्रतीक्षा संज्याल, दोस्रो अनिशा पुर्वेती र तेस्रो ज्ञानोदय मावि राम्नाकोटकी सलिना सेजुवाल हुनुहुन्थ्यो।

विजेता तथा सहभागीहरूलाई आधा दर्जन कपी, आधा दर्जन पेन, मदन पुरस्कार प्राप्त पुस्तक, प्रमाणपत्र तथा टेबल स्टिकर प्रदान गरिएको थियो। साथै सहभागी सबै विद्यार्थी र विद्यालयलाई पनि प्रमाणपत्र र पुस्तक वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई थप आकर्षक बनाउन रोचक नृत्य, नाच तथा गजल प्रस्तुत गरिएको थियो। आयोजक समाज परिवर्तन युवा क्लबका अध्यक्ष चन्द्र सेजुवालले यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक चेतनाको विकास हुने विश्वास व्यक्त गरेको बताएका छन ।

तपाईको प्रतिक्रिया