वित्तीय क्षेत्रको पाठ : राजनीति फेरि उही गल्ती दोहोर्याउँदैछ ?

“वित्तीय क्षेत्रको पाठ : राजनीति फेरि उही गल्ती दोहोर्याउँदैछ ?”

लंक बहादुर बम

सुर्खेत

नेपालको वित्तीय क्षेत्र आज जुन संकटपूर्ण अवस्थामा पुगेको छ, त्यसलाई केवल भूकम्प, कोभिड-१९ महामारी, आर्थिक उतार-चढाव वा नियामक कमजोरीको परिणाम भनेर बुझ्नु अधुरो विश्लेषण हुनेछ । यसको जरा गहिरो छ, नेतृत्व चयनमा गरिएको दीर्घकालीन लापरवाही ।

एक दशक अघिसम्म नयाँ बैंक तथा वित्तीय संस्था खोल्ने र पुरानाहरूले व्यवसाय विस्तारको नाममा शाखा विस्तार गर्ने अस्वस्थ प्रतिस्पर्धा नै चल्यो । भौतिक संरचना विस्तार त भयो, तर त्यस अनुसारको बौद्धिक र व्यवस्थापकीय क्षमता विकास हुन सकेन । शाखा प्रमुखदेखि प्रमुख कार्यकारी अधिकृतसम्मका संवेदनशील पदहरूमा अनुभव, दक्षता र नैतिक धरातल भएका व्यक्तिभन्दा पनि पहुँच र सम्बन्धका आधारमा जहाँ जो भेटियो उसैलाई जिम्मा दिने प्रवृत्ति हावी भयो । परिणामस्वरूप संस्थागत सुशासन कमजोर बन्यो, जोखिम व्यवस्थापन औपचारिकतामा सीमित रह्यो र अन्ततः वित्तीय प्रणाली नै जनविश्वास गुमाउने अवस्थामा पुग्यो ।

आज देखिएको खराब कर्जा, नियामक हस्तक्षेप, गाभ्ने-मिलाउने बाध्यता र केही संस्थाको अस्तित्व नै संकटमा पर्नु यही नेतृत्वगत छनोटमा भएको त्रुटिको परिणाम हो ।

चिन्ताको विषय के छ भने, यही प्रवृत्तिको पुनरावृत्ति अहिले नेपालको राजनीतिक क्षेत्रमा देखिन थालेको छ । पछिल्लो समय राजनीतिक दल खोल्ने लहर चलेको छ, जुन लोकतान्त्रिक अभ्यासको हिसाबले सकारात्मक संकेत हो । तर दलभित्र नेतृत्व चयनको प्रक्रिया हेर्दा विगतको वित्तीय क्षेत्र सम्झनु पर्ने अवस्था आएको छ ।

स्थानीय तहदेखि केन्द्रीय तहसम्म नेतृत्व छनोट गर्दा विचार, नीति बुझाइ, जनउत्तरदायित्व, नैतिकता र दीर्घदृष्टि भन्दा बढी व्यक्तिगत निष्ठा, समूहगत स्वार्थ र क्षणिक लोकप्रियतालाई प्राथमिकता दिइँदैछ । मुख्य समस्या दलमा होइन, दलभित्र नेतृत्व छनोटको मापदण्डमा छ । यसले दललाई संगठनभन्दा पनि व्यक्ति-केन्द्रित बनाउँदै लगेको छ । यो कुरा आशा र भरोसा गरेका नयाँ वैकल्पिक शक्तिहरुले मनन् गर्नुपर्छ ।

राजनीति कुनै वित्तीय संस्थाजस्तो केवल सञ्चालन र नाफाको विषय होइन । यसले राज्यको दिशा, समाजको मूल्य र भावी पुस्ताको भविष्य निर्धारण गर्छ । तर यदि नेतृत्व छनोटमा योग्यता होइन, पहुँच निर्णायक बनिरह्यो भने, आज संकटग्रस्त वित्तीय क्षेत्र जस्तै भोलिको राजनीति पनि अविश्वास, अस्थिरता र विघटनतर्फ उन्मुख हुने देखिन्छ ।

इतिहासले स्पष्ट सन्देश दिएको छ । संस्था र संगठन बलियो बनाउने आधार नेतृत्व हो । बैंक होस् वा पार्टी, शाखा होस् वा सरकार, योग्य व्यक्ति सही स्थानमा नबस्दासम्म नीति टिक्दैन, प्रणाली चल्दैन र जनविश्वास कायम रहँदैन । यो कुरा सबैले बुझ्न आवश्यक छ ।

आजको राजनीति वित्तीय क्षेत्रको असफलताबाट पाठ सिक्न असफल भयो भने, भोलि देशले अर्को गहिरो संकटको मूल्य चुकाउनु पर्नेछ । नेतृत्व निर्माणमा गरिने लापरवाही केवल संगठनको कमजोरी होइन, राष्ट्रकै भविष्यप्रति गरिएको गम्भीर उपेक्षा हो । इतिहास यस्ता गल्तीहरूलाई कहिल्यै माफ गर्दैन ।यसले केवल परिणाम देखाउँछ ।

त्यसैले इतिहासले बारम्बार देखाइ सकेको छ । देश भाषणले होइन, कार्यले बन्छ । अब देशलाई अहिले थप भाषण, घोषणा र प्रतिबद्धताको आवश्यकता छैन, केवल काम गरेर देखाउने, कार्यक्षमताको परीक्षा पास गर्न सक्ने, निर्णयको परिणाम स्वीकार गर्ने र संस्थागत सुधारलाई व्यवहारमा उतार्न सक्ने नेतृत्व चाहिएको छ ।

तपाईको प्रतिक्रिया