कालीकोट जिल्लाको खाँडा चक्र नगरपालिका–४ निवासी शैलजा आचार्यलाई सान्नीत्रिवेणी गाउँपालिका–१, कालीकोटका दलाल भरत सुबेदीले गिरिस पठाइदिन्छु भनी २०८१ सालको माघ महिनामा भ्रमण भिसामा ओमान पठाएका थिए। तर भिसाको म्याद सकिएपछि उहाँलाई ओमान प्रहरीले नियन्त्रणमा लिएर जेलमा राखेको खुलेको छ। उक्त घटनाको जानकारी करिब दुई महिना पछि मात्र प्राप्त भएको थियो।
घटनाबारे जानकारी पाएलगत्तै गृह मन्त्रालय, श्रम मन्त्रालय तथा परराष्ट्र मन्त्रालयसम्म निरन्तर समन्वय र पहल गर्दै शैलजा आचार्यको रिहाइ तथा सुरक्षित स्वदेश फिर्ताका लागि प्रक्रिया अघि बढाइएको थियो। निरन्तर पहलको परिणामस्वरूप एक हप्ता भित्रै उहाँ सुरक्षित रूपमा नेपाल फर्किन सफल हुनुभएको छ।
उद्धार तथा स्वदेश फिर्ताको यस प्रक्रियामा जेन–जि फन्ट नेपालकी प्रदेश संयोजक बिनिता बोगटी र जिल्ला प्रसासन कार्यालय कालीकोट ले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। साथै, हरेक चरणमा साथ र सहयोग प्रदान गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कालीकोटका युवा नेता जस बोगटी, बिनोद चौलागाई र मनरिसि चौलागाई , गँणेश उपाध्याय , धनिराम धमला लगायत सम्पूर्ण रास्वपा कालीकोट परिवारको सक्रिय योगदान रहेको बताइएको छ।
सम्बन्धित पक्षहरूले भ्रमण भिसाको दुरुपयोग गरी वैदेशिक रोजगारीका नाममा हुने ठगीप्रति आम नागरिकलाई सचेत रहन आग्रह गरेका छन्। साथै, यस्ता घटनामा संलग्न दलालमाथि कडा कानुनी कारबाही गर्नुपर्ने आवश्यकता समेत औँल्याइएको छ।

साझा रैबार । ८ पुष २०८२, मंगलवार २०:४३