पुष्कर रोकाया
(शिक्षा क्षेत्रका विश्लेषक, युवा लेखक)
कर्णालीमा “शिक्षा” भन्ने शब्द उच्चारण गर्यो भने अब पाठ्यपुस्तक, ज्ञान, बुझाइ र अनुशासन होइन—सबैभन्दा पहिले आँखा अगाडि आउँछ एक भीड–भाडले भरिएको कक्षा। ३२–३५ विद्यार्थी बस्न मिल्ने कक्षामा सय–सय जनालाई कोचेर राख्नु यहाँ असाधारण कुरै रहेन। झनै विडम्बनात्मक त के छ भने, यसरी भीड भरिदिनेहरूलाई समाजले “समर्पित शिक्षक”, “मेहेनती प्रबन्धक” र “सफल शैक्षिक हस्ती” भनेर जित्ता–जित्त सम्मान गर्छ।
कर्णालीमा शिक्षा अब गुणले होइन संख्याले नापिन थालिएको छ।
भीड नै सफलता, गुणचाहिँ ‘फुर्सद’को कुरा
विद्यार्थीले सिकिरहेछ कि, बुझिरहेछ कि, मानसिक–शैक्षिक विकास भइरहेको छ कि—यी प्रश्नहरू अब गौण बनेको धेरै भयो। मुख्य कुरा अब एकै थरीका छन्:
कति विद्यार्थी समाउन सकियो?
कति फी उठाउन सकियो?
कति ‘टॉपर’ उत्पादन गरेर बजारमा हल्ला गर्नु सकियो?
काउण्ट–काउण्टको खेलमा कर्णालीको शिक्षा ‘बजारको बस्तु’मा रूपान्तरित भइरहेको छ। टेबलमाथिको चकभन्दा मोबाइलक्याल्कुलेटरको काउण्टर बढी चल्ने अवस्था आएको छ।
शिक्षक होइन, ‘भीड व्यापारी’को उदय
सबैभन्दा दुखद पक्षः
यिनै भीड बेच्नेहरू नै धर्मगुरु जस्तै “शिक्षा सुधार”का प्रवचक बनेर अगाडि उभिन्छन्।
स्वार्थ, लोभ र व्यापारी मानसिकता आफ्नो काँधमा छ कि छैन एकपटक आफैँले सूँघ्ने हिम्मत पनि गर्दैनन्।
कस्तुरीझैँ ज्ञानका कुरा गर्छन्, तर गन्ध आफ्नै भित्र छ कि छैन थाहा छैन।
कसैको अभिनय त यस्तो छ कि
– विद्यार्थी बर्सीय भने ‘होस्ट’ जस्तै हाँसो,
– फी नदिए भने ‘भिखारी’ जस्तै व्यवहार,
– फी दिए भने ‘टॉपर’ बनाइदिने उदारता।
शिक्षकको पहिरन लगाएर व्यापारीको मन बोकियो भने भविष्य बेच्नु कत्तिको सजिलो रहेछ भन्ने कुरा यिनै पात्रहरूले प्रमाणित गरिरहेका छन्।
कर्णालीको शिक्षा बिग्रिएको होइन बिगारिएको हो
अक्सर भनिन्छ, “कर्णालीको शिक्षा कमजोर छ, अविकसित छ, पिछडिएको छ।”
तर वास्तविकता अर्कै छ
शिक्षा बिग्रिएको होइन, योजनाबद्ध रूपमा बिगारिएको हो।
कसले बिगार्यो?
त्यसै शान्त, सभ्य, मर्यादित देखिने अनुहारहरूले
जसले कक्षालाई भीडको बजार बनायो,
ग्रेडलाई बेच्ने पर्चा बनायो,
र भविष्यलाई खरिद–बिक्रीको सामान जस्तो व्यवहार गर्यो।
शिक्षक, अभिभावक, समाज सबै कित्तामा सत्य थाहा छ।
मौन छौँ भने अज्ञान भएर होइन
किनकि बोल्न नचाहेर,
दुःखद तर यथार्थ बुझेर।
हामी सबैलाई थाहा छ कसले शिक्षा दिन्छ, कसले ‘व्यापार’ गर्छ
कसले विद्यार्थीको भविष्य बनाउँछ,
कसले भविष्य लुट्छ
सबैलाई थाहा छ।
हेर्दै नबोलेको मात्र हौँ। तर मौनता सहमतिको संकेत होइन
मौनता पीडाको आवाज हो।
समाधान औपचारिक भाषणमा होइन ईमानदार आत्मसमीक्षामा
कर्णालीले शिक्षा सुधार चाहिएको छ। तर त्यो सुधार घटस्थानीय, विज्ञप्ति, कार्यक्रम र फोटो सेसनले हुँदैन।
सुधार तब मात्र सम्भव हुन्छ जब शिक्षकले आफूलाई शिक्षकको रूपमा हेर्छ,
– अभिभावकले शिक्षा र भीडबीच भेद छुट्याउँछ,
– र संस्थाले काउन्ट होइन, गुणमा विश्वास गर्छ।
अन्त्यमा…
कर्णालीलाई ज्ञान चाहिएको छ, भीड होइन।
शिक्षा चाहिएको छ, व्यापार होइन।
भविष्य निर्माण गर्ने हात चाहिएको छ, भविष्य बेच्ने होइन।
अब प्रश्न कर्णालीका शिक्षा संस्थालाई मात्र होइन—हाम्रा सबैलाई छ:
हामी अझै “भीडको खेती”लाई शिक्षा मान्दै बस्छौँ,
या वास्तवमै परिवर्तनको बाटो समाउँछौँ?
— पुष्कर रोकाया
(शिक्षा क्षेत्रका विश्लेषक, युवा लेखक)

साझा रैबार । १८ मंसिर २०८२, बुधबार १५:१८