सुशील संंज्याल
राष्टिय युवा सघ नेपाल,कर्णाली प्रदेश सचिवालय सदस्य
देशलाई आजको यो अवस्थामा ल्याई पुर्याउन भूमिका खेल्ने प्रमुख कारक तत्त्व भनेको आइएनजिओ र एनजिओ नै हुन् । सयौँ आइएनजिओ र ५० हजारको हाराहारीमा रहेका एनजिओलाई मलजल कसले गर्यो त्यो नै आजको मुख्य दोषी हो ।
त्यही भएर विगत लामो समयदेखि हामीले भन्दै आयौं- पश्चिमाहरू (युरोपियन युनियन, विश्व बैंक, आइएमएफ, संयुक्त राष्ट्रसङ्घ, अमेरिकाको डेमोक्रेट पार्टी, बेलायत, समग्रमा भन्दा डिपस्टेटद्वारा सञ्चालित सबै) श्रीमान र श्रीमतीको बेडसम्म पुगिसके अब त केही गरौं ।” भन्दा कसैले हाम्रो कुरालाई सुनेन, सुन्न चाहेन, सुनेर पनि नसुनेको जस्तै गरे, बुझेर पनि बुझ पचाए, देखेर पनि नदेखेको जस्तै गरे, किनभने उनीहरू सबै पश्चिमाहरुका कठपुतली र कारिन्दा थिए।
अत : नेपाली जनताका कथा र फोटो बेच्ने, भूगोल र समुदाय बेच्ने, कथित विभिन्न अधिकारका नाममा सुनको कचौरा थापेर भिख माग्ने, नक्कली प्रजातन्त्रका कुरा गर्ने, विकासका रटान लगाउने, लोकतन्त्रको आवरणमा कालो धन्दा चलाउने, पैसाका लागि विदेशीका सामुन्ने सर्वाङ्ग भएर देशै बेच्ने सबै सबैको पहिचान गर्नुपर्दछ ।
हुन त ती को हुन्, उनीहरू कहाँ कहाँ आबद्ध छन्, तिनीहरूलाई कुन पार्टी र राजनीतिक दलका साथै नेताले संरक्षण गरेको छ, उनीहरूले कस्ता कस्ता कुकृति कुकर्म र विकृति जन्य काम गरिरहेका छन् आदि इत्यादि नेपाली जनतालाई राम्ररी थाहा छ र हेक्का पनि राखेका छन्।
तसर्थ, साँच्चै अहिलेको समस्या समाधान गर्दै देशलाई बचाएर देशलाई देशजस्तो बनाउने हो भने आवरणमा होइन सबै प्रकारका भ्रमबाट मुक्त हुँदै वास्तविकताको धरातलमा उभिएर सबैले गम्भीर बन्न जरुरी छ।
जेन जी विद्रोह हुनुको प्रमुख कारण मध्येको एक शक्ति पृथकिकरणको सिद्धान्त स्खलित हुनु पनि हो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सम्पूर्ण रूपमा राजनीतिकरण हुन गई यी तिनै अङ्गले देश र जनतालाई निरन्तर भुल्ने मात्र गरेनन् गद्दारी, बेइमान र धोका धडीको काम गर्दै गए । नक्कली भुटानी शरणार्थी काण्ड मच्चाएर मानव बेचबिखन तथा तस्करी जस्तो काममा पनि यी तिनै अङ्गलाई दुरुपयोग मात्रै गरिएन देशद्रोही काम समेत भयो ।
कार्यपालिका कार्यपालिका जस्तो नभएर डिप स्टेटको कठपुतली बन्दै राष्ट्रघाती महाकाली सन्धि देखि महा राष्ट्रघाती एमसीसी सम्म परियोजनालाई सार्वभौम सत्ता सम्पन्न संसदबाट जबरजस्त पारित गर्न लगाइयो ।
व्यवस्थापिका संसद मुठीभरका नेताको रबर स्ट्याम्प जस्तै भएर यस्ता राष्ट्रघाती, देशद्रोही तथा जनविरोधी काम गरेर निकम्मा साबित मात्रै भएन कि संसदीय राजनीतिको औचित्य माथि समेत गम्भीर प्रश्न उड्ने काम भयो।
न्यायपालिका राजनीतिक दलका कार्यकर्ताको भर्ती केन्द्र जस्तै बनेर न्याय किन्नुपर्ने, कार्यपालिका र व्यवस्थापिकाको छायाको रूपमा रहनुपर्ने र देशभित्र र देश बाहिर बाट प्रभाव र प्रलोभनमा पर्ने काम समेत भयो। जसका कारणले गर्दा डिप स्टेट द्वारा लादिएका कतिपय सामाजिक र पारिवारिक मूल्य मान्यता विपरीतका विषयमा कानुन नहुँदा नहुँदै अमुक न्यायाधीशले अन्तरिम आदेश दिएकै भरमा सरकारले उक्त अन्तरिम आदेशलाई कानुन सरह मानेर कार्यान्वयन गर्ने अवस्था आयो। ठूलालाई चैन सानालाई ऐन भन्ने उखानको चरितार्थ त निरन्तर हुँदै आएको छ।
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई सन्तुलन (check and balance ) राख्न महत्वपूर्ण भूमिका खेल्ने चौथो अङ्ग भनिँदै आएको पत्रकारिता जगत पार्टी, नेता र एनजिओ कारीतामा मात्रै नभएर पर्चा कारितामा बिलिन हुन गए । कर्पोरेट हाउस द्वारा सञ्चालित ब्रो सिट पत्रिकाहरूले पश्चिमाहरू बाट ठूलो धनराशि लिएर मुलुकमा भ्रम सिर्जना गर्न नै उद्धत रहे । औंलामा गन्न सकिने देश र जनताको हितमा सञ्चालित रहेका साना लगानीका मिडियाहरू रहे पनि उनीहरूको न गणना गरियो न गरिएको छ न सुनुवाई नै भएको छ। किनभने उनीहरु कसैबाट सञ्चालित र परिचालित छैनन् । धिपधिपे बत्ती बालेर जुनकिरी र झ्याउ किरीको भूमिकामा अहिले पनि रहेका छन्।
देश निकै संगिन र गम्भीर मोडमा रहेकोले सम्पूर्ण भ्रमबाट मुक्त भएर यथार्थको धरातलमा उभिँदै सञ्चालित र परिचालित होइन कि, स्वचालित भएर अरु सबै कुरालाई थाती राख्दै देशका लागि सोच्ने बेला हो यो समय ।
तर यहाँ कतिपयले पार्टीका कुरा गरिरहेका छन्, कतिपयले जातिका कुरा गरिरहेका छन्, कतिपयले भूगोलका कुरा गरिरहेका छन्, कतिपयले अधिकारका कुरा गरिरहेका छन्, कतिपयले धर्मका कुरा पनि गरिरहेका छन, यी सबै कुरा यतिबेला गौण हुन् । किनभने हामीले सबैभन्दा पहिला देश बचाउनु छ। देश बच्यो भने यी माथि उल्लेख गरेका सबै कुरा हामीले गर्न पाइहाल्छौ । यदि देश नै बचेन भने त्यो बेला “न्याउरी मारी पछुतो” भनेझैँ पछुताउनु बाहेक अरु केही हुने छैन ।
अत : माधवप्रसाद घिमिरेले लेखेको र नाती काजीले त्यो बेला नै गाएको गीत “नेपाली हामी रहौला कहाँ, नेपालै नरहे !” फेरि एकपटक सबैले गाउने बेला भएको छ ।
हामीले बारम्बार भन्दै आइरहेका थियौँ र छौँ-
नेपालमा क्रान्ति जारी छ, राजनीतिक क्रान्ति त भएकै छैन, विभिन्न कालखण्डमा क्रान्तिका सानातिना पराकम्पनहरु मात्र उत्पन्न भएका हुन् । जेन जीहरुको शान्तिपूर्ण प्रदर्शन पछिको विद्रोह सहितको क्रान्ति त्यसैको निरन्तरता हो । किनभने दक्षिण एसियामा अहिलेसम्म क्रान्ति सम्पन्न भएको छैन । यहाँ धेरैसँग लड्न अझै बाँकी छ।
गरिबी र बेरोजगारी समस्या दिन प्रतिदिन बढिरहेको छ । वर्षेनी विश्व बैंकले गरिबी र बेरोजगारी हट्दै गएको भनेर तथ्याङ्क प्रकाशन गरेपनि त्यो मिथ्याङ्क मात्र हो। राष्ट्रियता राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, अखण्डता र जनजीविकाका साथै जन तन्त्रका सवालमा पनि क्रान्तिलाई जारी राख्नुपर्ने अवस्था विद्यमान नै छ । यी सबैका साथै हामीले समाजवादमा जानका लागि अझै योभन्दा ठूलो क्रान्तिको आँधी बेहरी सिर्जना गर्नुपर्ने अवस्था रहेको छ।
नेपालबाट डिप स्टेट लाई लखेट्नु पर्नेछ, धपाउनु पर्नेछ, देश निकाला गर्नुछ, उनीहरूलाई धुलिसाप गरेर सबक सिकाउनुपर्ने पनि छ ।

साझा रैबार । २४ कार्तिक २०८२, आईतवार ०८:३७