पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ ले विभिन्न कार्यक्रम गरेर तेस्रो पदस्थापना दिवस मनाएको छ । २०७९ साल वैशाख ३१ मा निर्वाचन भई वडाध्यक्ष राधिका शाही योगी नेतृत्वको टिमले जेठ १२ मा जिम्मेवारी सम्हालेको थियो ।
पदस्थापना दिवसको अवसरमा वडा कार्यालयले छोरेपाटनस्थित मानवसेवा आश्रममा अत्यावश्यक सामग्री हस्तान्तरण, विपन्न परिवारलाई ईन्डक्सन चुलो वितरण गर्नुका साथै र एकल महिलालाई सेल्फ मेकअफ तालिम सञ्चालन गरेको वडाध्यक्ष शाहीले जानकारी दिइन् ।
वडाध्यक्ष शाहीले जनताका काम गर्ने इच्छाशक्ति तीब्र हुँदाहुँदै पनि साधन स्रोतको कमी तथा दक्ष जनशक्तिको अभाव केही न केही कठिनाई भइरहेको बताइन् ।
अव्यवस्थित शहरीकरण, कानूनी जटिलता, नागरिकको हरेक कामको धेरै अपेक्षा भएता पनि विधिविधानमा रहेर सकेको काम गरिरहेको उनले स्पष्ट पारिन् ।
उनले भनिन्, ‘वडावासीको अपार माया, विश्वास हामीले बोकेको विचार स्थापित र जिम्मेवारी प्राप्त गरेको दिन सो अबसरमा गरी मनाएका छौँ, हामीलाई दिइएको जिम्मेवारी तीन बर्ष पूरा गरी चार बर्षको शुरुआतमा छौँ ।’
‘काम गर्ने इच्छा शक्ति तीब्र हुँदाहुँदै पनि साधन स्रोतको कमी, दक्ष जनशक्तिको अभाव, बढ्दो तथा अव्यवस्थित शहरीकरण, कानूनी जटिलता, नागरिकको हरेक कामको धेरै अपेक्षा भएता पनि सकेको विधिविधानले दिने काम गरेका छौँ’, उनले थपिन् ।
‘कामको मूल्यांकन हजुरहरुकै माँझमा छ, बाँकी बर्षमा पनि हजुरहरुको साथ सहयोगको अपेक्षा साथ थप जिम्मेवार भएर नागरिकको सेवामा समर्पित हुने छौँ’, वडाध्यक्ष शाहीको प्रतिवद्धता छ ।
साझा रैबार । १५ जेष्ठ २०८२, बुधबार १५:०४