पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न
कालिकोट, जेठ १० ।
“स्थानिय स्रोतको उपयोग, स्वामित्व र सहभागितापूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ पचालझरना गाउँपालिका ले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा समारोह सम्पन्न गरेको छ ।
पचालझरना गाउँपालिका स्वास्थ्य शाखा, कालिकोटको आयोजनामा गाउँपालिकास्थित कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, अभिभावक तथा स्थानीय नागरिकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा गाउँपालिकाभित्रका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक सबै खोप प्राप्त गरेको घोषणा गर्दै पूर्ण खोप सुनिश्चितता तथा दिगोपनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरूले बालबालिकाको स्वास्थ्य सुरक्षा तथा उज्ज्वल भविष्यका लागि खोप अत्यन्त आवश्यक रहेको बताए । उनीहरूले “पूर्ण खोप सुरक्षित भविष्य” भन्ने सन्देशलाई घरघरमा पुर्‍याउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे ।
गाउँपालिकाले स्थानीय स्रोत, समुदायको सहभागिता तथा स्वास्थ्य संस्थाको समन्वयमार्फत आगामी दिनमा समेत खोप कार्यक्रमलाई निरन्तर प्रभावकारी रूपमा सञ्चालन गर्ने जनाएको छ ।
“खोप निःशुल्क छ, खोप सुरक्षित छ” भन्ने सन्देशसहित सम्पन्न कार्यक्रममा नियमित खोप अभियानलाई सफल बनाउन सबै अभिभावकलाई आफ्ना बालबालिकालाई समयमै खोप लगाउन आग्रह गरिएको थियो ।

तपाईको प्रतिक्रिया