बालबालिकाको सिकाइमा शिक्षक, अभिभावक र विद्यालयको भूमिका

बालबालिकाको सिकाइमा शिक्षक, अभिभावक र विद्यालयको भूमिका
— नवराज जैसी
बालबालिकाको सिकाइ कुनै एक स्थान वा व्यक्तिमा सीमित हुँदैन। सिकाइ कक्षाकोठादेखि घर, खेलमैदानदेखि सामाजिक परिवेशसम्म र गर्भाधारण देखि मृत्यु पर्यन्त सम्म चलिरहन्छ। आजको आधुनिक र प्रतिस्पर्धात्मक विश्वमा बालबालिकालाई केवल अक्षर पहिचान वा पुस्तकको ज्ञान मात्र पर्याप्त छैन; उनीहरूलाई जीवन उपयोगी सीप, सकारात्मक सोच, अनुशासन र मूल्यबोध तथा जीवन जिउने कला पनि आवश्यक हुन्छ। बालबालिकाको सर्वाङ्गीण विकास सम्भव बनाउन शिक्षक, अभिभावक र विद्यालय तीनै पक्षले हातेमालो गर्नुपर्छ। यी तीन स्तम्भबीचको सहकार्य नै बालबालिकाको सिकाइको मेरुदण्ड हो।

शिक्षक सिकाइका मार्गदर्शक मात्र होइन उनीहरूको सिकाई यात्राको एक कुशल कप्तान, प्रेरणाको स्रोत पनि हुन्। शिक्षकले कक्षामा सिर्जनात्मक र जिज्ञासुपूर्ण वातावरण निर्माण गर्न सके बालबालिकाले सिकाइलाई उत्साहपूर्वक ग्रहण गर्दछन्। शिक्षकले विद्यार्थीको क्षमता, दुर्बलता र रुचि पहिचान गरी त्यसअनुसार सिकाइ गतिविधि तयार गर्नुपर्छ। निरन्तर मूल्यांकन, प्रोत्साहन र सकारात्मक व्यवहारले विद्यार्थीमा आत्मविश्वास वृद्धि हुन्छ। शिक्षकको एक उर्जाशील मुस्कान वा उचित मार्गदर्शनले विद्यार्थीको सिकाइ–मार्ग नै बदल्न सक्छ, त्यसैले शिक्षकको भूमिका अत्यन्तै संवेदनशील र केन्द्रिय मानिन्छ।

यस्तै, अभिभावक बालबालिकाको पहिलो शिक्षक हुन्। घरको वातावरण सहयोगी, शान्त र अनुशासित भए, बालबालिकाको सिकाइ सहज रूपमा अगाडि बढ्न सक्छ। अभिभावकले नियमित रूपमा गृहकार्य, पढाइ समय, सिकाइको अवस्था र बच्चाको रुचि–चासोमा ध्यान दिनु पर्दछ। बच्चासँग खुला संवाद, समस्या सुन्ने व्यवहार र भावनात्मक सुरक्षा प्रदान गर्नु घरको महत्वपूर्ण भूमिका हो। अभिभावकले विद्यालयसँग नियमित सहकार्य, शिक्षकसँगको संवाद र पिटिए कार्यक्रमको सहभागिताबाट बालबालिकाको सिकाइमा महत्वपूर्ण प्रभाव पार्न सक्दछन्।

यति मात्र होइन, विद्यालय पनि समग्र सिकाइको संरक्षक हो। विद्यालयले आवश्यक पूर्वाधार—जस्तै पुस्तकालय, प्रयोगशाला, खेलकुद सामग्री, सूचना–प्रविधि प्रयोग—उपलब्ध गराएर सिकाइलाई व्यवहारिक र आधुनिक बनाउनु पर्दछ। सिकाइमा जीवन उपयोगी कौशलको विकास, समावेशी वातावरण, बालमैत्री व्यवहार र हिंसामुक्त विद्यालय निर्माण विद्यालयको उत्तरदायित्व हो। साथै, शिक्षकलाई निरन्तर व्यावसायिक तालिम, सिकाइ सामग्री उपलब्धता र सहज व्यवस्थापन उपलब्ध गराउनाले सिकाइ अझ प्रभावकारी बलियो बन्दछ।

अन्ततः, बालबालिकाको उज्यालो भविष्य निर्माण गर्न यी तीन पक्षले आ–आफ्नो भूमिकालाई इमानदारीसाथ निभाउनु मात्र पर्याप्त छैन; उनीहरूबीच निरन्तर संवाद, समन्वय र सहकार्य आवश्यक छ। शिक्षकले सिकाइमा नवीनता ल्याए, अभिभावकले घरमा सकारात्मक समर्थन दिए, र विद्यालयले गुणस्तरीय वातावरण तयार गर्‍यो भने बालबालिकाले आफ्नो क्षमता पहिचान गर्न, लक्ष्य निर्धारण गर्न र जीवनका हर चुनौती सामना गर्न सक्षम बन्नेछन्। त्यसैले बालबालिकाको सिकाइलाई सफल, दिगो र जीवनपरक बनाउन शिक्षक–अभिभावक–विद्यालय त्रिकोणीय सहकार्य नै सबैभन्दा प्रभावकारी उपाय हो।

तपाईको प्रतिक्रिया