प्रेस चाैतारीका प्रदेश अध्यक्ष सहित सात पत्रकारलाई पुरस्कार तथा सम्मान

सुर्खेत । कर्णाली प्रदेश सरकारले अघिल्ला वर्षहरूको निरन्तरतामा यस वर्ष पनि कर्णालीका पत्रकारहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । प्रदेश स्थापना दिवसको अवसरमा बुधबार वीरेन्द्रनगरस्थित रंगशालामा आयोजित विशेष समारोहमार्फत सात जना पत्रकारलाई विभिन्न विधामा पुरस्कार तथा सम्मान गरिएको हो ।

यसअघि प्रदेश सरकारले प्रत्येक वर्ष तीन जना पत्रकारलाई मात्र पुरस्कार दिने गरेको भए पनि यसपटक सात जनासम्म पुरस्कृत गर्दै क्षेत्रीय पत्रकारिताप्रतिको सम्मानलाई थप विस्तारित गरेको छ । जसमा ७५ हजार रुपैयाँ राशिको कर्णाली प्रादेशिक पत्रकारिता पुरस्कार प्रेमराज सिमखडा (कालीकाेट) ले प्राप्त गरे भने ५० हजार राशिको कर्णाली वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार प्रकाश पन्त (सुर्खेत) ले हात पारेका छन् ।

त्यसैगरी, कर्णाली सशक्त सञ्चारकर्मी पुरस्कार हेमन्त केसी (जाजरकाेट)र ओम शाही (सुर्खेत) लाई प्रदान गरिएको छ । कर्णाली समावेशी पत्रकारिता पुरस्कार भने सिर्जना बुढाथोकी (सुर्खेत) र नौरते नेपाली (जुम्ला) ले प्राप्त गरेका छन् । यस पुरस्कारको राशि ३५ हजार रुपैयाँ रहेको छ । कार्यक्रममा प्रदेश सरकारले पत्रकारिता, सञ्चार र सार्वजनिक सेवामा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्दै आएको परम्परालाई यसपटक पनि निरन्तरता दिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया